Saturday, February 29, 2020

कविता : आज पनि उनै आए

- मातृका पोखरेल 

अस्ति उनी
विकासका योजना लिएर आउँथे
पारि पाखामा
कुलोको खाँचो छ भन्दै आउँथे
यो गाउँका निम्ति
यति मिटरपाइप चाहिन्छ भन्दै
फुलबुट्टा भरेर आउँथे
उनी भोट माग्थे
माननीय बन्थे
मन्त्री बन्थे
पाँच बर्षपछि फेरि आउँथे ।

यसरी
पारी पाखामा फापर फलाउनेहरु
धान फलाउने सपना
भोट बनाउँदै बाकसमा खसाउँथे
दुई कोसको पधेंरा धाउने दिदीबहिनीहरु
आँगनमा गाग्रो भर्ने कल्पना
उनैको बाकसमा भर्थे
उनी पाँच बर्षपछि आउँथे
झन् सुकिला बनेर आउँथे
खाइलाग्दा बनेर आउँथे ।

गाउँहरु ढाँटिए
देश लुटियो
मानिसले चाल पाए
उनीहरु अत्याचारका निम्ति लडे
छोराहरु मारिए
छोरीहरु बलात्कृत भए
तर छोराको बलिदानको कथा सुनाउँदै
छोरीको त्यागको मन्त्र जप्दै
नयाँ प्रजातन्त्रको आँगनमा
खै ! आज पनि फेरि उनै आए ।



जनादेश साप्ताहिक, वर्ष १, अंक ४९, २०४६ असार २३

===================================

No comments: