Sunday, September 17, 2017

पुरस्कारको लेनदेन : १० लाख दिएपछि प्रचण्डलाई ‘देवकोटा सम्मान’





सन्यास लिन्छु- प्रसाई, मैले भेट गराएको हैन- शर्मा

 

६ साउन २०७४ , काठमाडौं । बारम्बार चर्चामा आइरहने पूर्वप्रधानमन्त्री प्रचण्ड यसपटक पुरस्कार र सम्मानका कारण चर्चामा आए । नई प्रकाशनले प्रदान गर्न लागेको ‘शताब्दी पदक’ र ‘त्रिमूर्ति सम्मान’ स्वीकार गरेको २४ घण्टा नबित्दै फेरि अस्वीकार गरेपछि प्रचण्ड तीन दिनयता चर्चामा छन् ।
त्रिमूर्ति निकेतनको टोलीले बुधबार प्रचण्डनिवास लाजिम्पाटमै पुगेर सम्मानसम्बन्धी निर्णय पत्र बुझाएको थियो । टोलीमा संस्कृतिविद डा. सत्यमोहन जोशीका साथै पूर्वशिक्षामन्त्रीद्वय डा. मोदनाथ प्रश्रित र दीनानाथ शर्मा पनि प्रचण्डनिवास पुगेका थिए । टोलीमा साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्मा, अनुवादक अनुराज जोशी र त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको उपस्थिति थियो ।
प्रचण्डले प्रशन्न मुद्रामा सम्मानसम्बन्धी निर्णय पत्र ग्रहण गरे र सामुहिक तस्वीर खिचाएका थिए । त्यसको लगत्तै त्रिमूर्ति निकेतनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले प्रचण्डलाई दिने सम्मान गर्ने निर्णयसहितको प्रेस विज्ञप्ति सार्बजनिक गरे ।
विज्ञप्तिमा लेखिएको थियो, ‘त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दुई पल्टको प्रधानमन्त्रित्वकालमा उहाँले त्रिमूर्ति निकेतनको थप उचाई अभिवृद्धिका साथै नेपाली भाषा साहित्यमा पुर्‍याउनुभएको योगदानको कदर स्वरुप उहाँलाई ‘त्रिमूर्ति सम्मान’ र ‘सत्यमोहन जोशी शताब्दी पदक’समर्पण गर्ने निर्णय गरेको छ ।’
आगामी भदौ ३ गते डा. सत्यमोहन जोशीको हातबाट प्रचण्ड सम्मानित हुने खबर सामाजिक सञ्जालहरुमा भाइरल बन्यो । तर, त्यसको २४ घण्टा नबित्दै प्रचण्डको सचिवालयले पदक तथा सम्मान ग्रहण नगर्ने भन्दै प्रेस विज्ञप्ति निकाल्यो ।
प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराका नामबाट जारी विज्ञप्तिमा पदक, सम्मान वा कुनै पनि पुरस्कार लिने वा नलिने भन्ने कुरा व्यक्तिको अधिकारको कुरा हो भन्दै त्रिमूर्ति सम्मान र शताव्दी पदक ग्रहण नगर्ने उल्लेख छ ।
आखिर किन यस्तो निर्णयमा पुगे प्रचण्ड ? प्रचण्डको सचिवालयका एक सदस्य भन्छन्- पुरस्कार दिने संस्थाको विवादास्पद छविकै कारण यस्तो निर्णय लिनुपर्‍यो ।
नइ र त्रिमूर्तिको ‘कनेक्सन’ के हो ?
नइ प्रकाशनका नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईं नै त्रिमूर्ति निकेतनका हर्ताकर्ता हुन् । नरेन्द्रराज र इन्दिराकै नामको पहिलो अक्षरबाट ‘नइ’ प्रकाशन स्थापना गरिएको हो । उनीहरु श्रीमान-श्रीमती हुन् ।


नरेन्द्रराज प्रसाईं र ईन्दिरा प्रसाईं
त्रिमूर्तिको सम्पूर्ण खर्च र व्यवस्थापन नइ प्रकाशनले व्यहोर्छ । ०५२ साल माघ १५ गते नइ प्रकाशन स्थापना भएको हो ।
नई प्रकाशन स्थापनाको ९ वर्षपछि अर्थात् ०६१ सालमा नरेन्द्र र इन्दिराले नै ‘त्रिमूर्ति निकेतन’ स्थापना गरे । यसका संस्थापकहरु घटराज भट्टराई, नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईं हुन् ।
लेखनाथ पौडयाल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा तीनजनाको नामबाट संस्थाको नाम त्रिमूर्ति नामाकरण गरिएको हो । ०६१ भदौ ११ गते त्रिमूर्ति (लेखनाथ पौडयाल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा)का ढलोटबाट निर्मित पूर्णकदको शालिक सूचना विभाग अगाडि अनावरण गरियो, जुन मूर्तिहरु अहिले पनि देख्न सकिन्छ ।
र, तिनै त्रिमूर्तिको नामबाट स्थापित लेखनाथ पौडयाल पुरस्कार, बालकृष्ण सम पुरस्कार र देवकोटा काव्य पुरस्कार विभिन्न स्रष्टाहरूलाई निकेतनले वितरण गर्दै आएको छ ।
यसका अतिरिक्त आवश्यकतानुसार नेपाली भाषा साहित्य र त्रिमूर्ति निकेतनका सेवामा समर्पित भएकाहरूलाई निकेतनले त्रिमूर्ति पुरस्कार र त्रिमूर्ति सम्मान पनि प्रदान गर्छ । यस्तै नइ प्रकाशनले बिभिन्न २८ विधामा पुरस्कार तथा सम्मान प्रदान गर्दछ ।
त्रिमूर्ति निकेतनका नरेन्द्र र ईन्दिरा प्रसाई शाही शासनकालमा पूर्वराजा ज्ञानेन्द्रका भक्त मानिन्थे । साथै उनीहरुको सम्बन्ध लोकमानसिंह कार्कीसँग पनि निकटको रहँदै आएको थियो । उनीहरुले लोकमानसिंह कार्कीका पिता भूपालमानसिंह कार्कीको जीवनीसमेत प्रकाशित गरेका छन् ।
त्रिमूर्ति निकेतनले  राज्यकोषबाट मोटो रकम हात पार्दै आएको छ । माधव नेपाल र  प्रचण्ड  प्रधानमन्त्री भएका बेलामा पनि प्रसाई दम्पत्तिले सरकारबाट मोटो रकम ‘सहयोग स्वरुप’ लिएको देखिन्छ ।
प्रचण्ड नेतृत्वको पहिलो सरकारले पनि त्रिमूर्ति निकेतनलाई १० लाख रुपैयाँ दिएको थियो । त्यसवापत ०६५ सालमा प्रचण्डलाई ‘देवकोटा शताब्दी सम्मान’ प्रदान गरिएको थियो
१० लाख दिएपछि प्रचण्डलाई देवकोटा सम्मान
सरकारबाट रकम लिँदै नेताहरुलाई सम्मान गर्ने काम नइ प्रकाशन र त्रिमूर्ति निकेतनले गर्दै आएको छ । प्रचण्ड, कीर्तिनिधि विष्ट, माधव नेपाल, केपी ओलीलगायत नेता नेतृत्वको सरकारले नइ प्रकाशनलाई सहयोग गर्दै आएका थिए ।
ज्ञानेन्द्रको नेतृत्वमा बनेको शाही सरकारका उपाध्यक्ष कीर्तिनिधि विष्टले प्रसाई दम्पतीको संस्थालाई ३० लाख रुपैयाँ सहयोग गरेका थिए । त्यसबाट नइ प्रकाशनले पूर्वप्रधानमन्त्री विष्टका बुबा-आमा चन्द्रनिधि विष्ट र धनकुमारी विष्टका नाउँमा हरेक वर्ष एक लाख रूपैयाँ राशिको ‘नइ चन्द्रधन पुरस्कार’ स्थापना गरेको छ ।
सनातन हिन्दू धर्ममा समर्पित एकजना विशिष्ट व्यक्तित्व वा हिन्दू धर्मसँस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले लेखिएको उत्कृष्ट कृतिलाई उक्त पुरस्कार प्रदान गरिन्छ ।
त्यसबाहेक विष्टले दिएको थप १० लाख रुपैयाँबाट ‘नइ कीर्तिनिधि पुरस्कार’ स्थापना गरिएको छ । यो पुरस्कारको राशी पनि एक लाख रुपैयाँ छ ।
प्रचण्ड नेतृत्वको पहिलो सरकारले पनि त्रिमूर्ति निकेतनलाई १० लाख रुपैयाँ दिएको थियो । त्यसवाफत ०६५ सालमा प्रचण्डलाई ‘देवकोटा शताब्दी सम्मान’ प्रदान गरिएको थियो । प्रचण्डले उक्त सम्मान स्वीकार गरेका थिए ।
प्रचण्डले गरेको सहयोगको त्यही गुन तिर्न त्रिमूर्ति निकेतनले आगामी भदौ ३ गते शताब्दी पदक सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । प्रचण्डसँगै राप्रपा अध्यक्ष कमल थापा र पूर्वमुख्य सचिव सोमलाल सुवेदीलाई पनि सम्मान गर्ने निर्णय त्रिमूर्ति निकेतनले गरेको छ ।
सरकारबाट लाखौं रकम लिने र नेतालाई सम्मान प्रदान गर्ने नई र त्रिमूर्तिको पुरानै परम्परा हो । तर, प्रसार्इले अनलाइनखबरसँग टेलिफोनमा भने- सरकारबाट लिएको १० लाख त साहित्यक सम्मेलन गर्दैमा सकियो, त्याे रकम लिएर प्रचण्डलार्इ सम्मान गरिएको होइन ।
बुधबारको भेटमा प्रचण्डले सम्मान ग्रहण गर्छु भने पनि भोलिपल्ट फेरि त्यसलाई नस्वीकार्ने घोषणा गरे । राजावादी पार्टी भनेर चिनिएको राप्रपाका अध्यक्ष कमल थापासँग गठबन्धन गरेर सरकार चलाएका प्रचण्डले नइ प्रकाशन र त्रिमूर्ति निकेतनलाई राजावादीको गन्ध आएको भन्दै सम्मान अस्वीकार गरे ।
माओवादी निकट भनेर चिनिने साहित्यकार एवं प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलका साथै नरेन्द्रजंग पिटर लगायतको सल्लाहमा प्रचण्डले नइ प्रकाशन र त्रिमूर्ति निकेतनको सम्मान ग्रहण नगर्ने निष्कर्षमा पुगेको स्रोतले बतायो ।
माओवादी निकटहरु नइ प्रकाशन र त्रिमूर्ति निकेतनले प्रगतिवादी साहित्यकारलाई ‘ह्युमलेट’ गरेको र राजावादीलाई पक्षपोषण गरेको आरोप लगाउँछन् ।
तर, नइ प्रकाशन तथा त्रिमूर्ति निकेतनको टोलीलाई लिएर माओवादीकै नेता दीनानाथ शर्मा प्रचण्डनिवास लाजिम्पाट पुगेका थिए । प्रसाई दम्पतीसँग माओवादी नेता शर्माको साँठगाँठ पुरानै हो । नइ प्रकाशनले यसअघि पूर्वशिक्षामन्त्री समेत रहेका शर्माको कृतिमा समालोचना प्रकाशन गरेको थियो । ‘दीनानाथ शर्माः सृजना र साधना’ नामक समालोचनात्मक ग्रन्थमा शर्माका कृतिबारे नेपाली साहित्यमा विद्यावारिधि गरेका र प्राध्यापन पेसामा आवद्ध नेपाल र भारतका १३ जना प्रतिनिधि समालोचकहरूका समालोचना समावेश छन् ।
माओवादी प्रवक्ता छाडेपछि राजनीतिमा भन्दा साहित्यमा बढ्ता ध्यान दिइरहेका नेता दीनानाथले नै प्रचण्डलाई फसाएको र विवादमा तानेको सचिवालय स्रोतको आरोप छ ।
राजनीति भए सन्यास लिन तयार छुः नरेन्द्रराज प्रसाई
यसैवीच नई प्रकाशन र त्रिमूर्ति निकेतनका संस्थापक नरेन्द्रराज प्रसाईंले अनलाइनखबरसँग भने, ‘म व्यक्तिगत रुपमा राजावादी हुँला वा भारतवादी हुँला तर संस्थामा राजनीतिक गन्ध पारेको छैन । यदि त्यस्तो प्रमाणित भए म साहित्यबाटै सन्यास लिन्छु ।’
उनले भने, ‘हामीसँगको भेटमा प्रचण्डले हुन्छ सम्मान ग्रहण गर्छु भन्नुभएको थियो । तर, भोलिपल्ट त्यसविपरीत विज्ञप्ति आयो । तर, हाम्रो संस्था कुनै दलतिर ढल्किएको छैन ।’
नइ प्रकाशनले डा. सत्यमोहन जोशीको जन्मोत्सवको दिन पारेर बिभिन्न सम्मान प्रदान गर्ने गरेको उनले बताए । यसपटक पनि जोशीकै हातबाट प्रचण्डलाई सम्मान गर्ने कार्यक्रम तय भएको उनले बताए ।
यसअघि एमाले नेताहरु बामदेव गौतम, भरतमोहन अधिकारी लगायतलाई पनि संस्थाले सम्मान गरेको उनले बताए ।
नरेन्द्रराज प्रसाईको टोलीले प्रचण्डलाई भेट्न जाँदा एमालेका पूर्वनेता एवं साहित्यकार मोदनाथ प्रश्रितलाई पनि दीनानाथ शर्मासँगै लिएर गएका थिए ।
दीनानाथ भन्छन्- प्रचण्डले फुरुङ्ग परेर फोटो खिचाउनुभयो
यसैवीच नई प्रकाशन र त्रिमूर्ति निकेतनको टोलीलाई आफूले प्रचण्डसँग भेट गराएको भन्ने प्रचण्डको सचिवालयको भनाइप्रति माओवादी नेता दीनानाथ शर्माले आपत्ति जनाएका छन् ।
दीनानाथ शर्मा
माओवादी अध्यक्ष प्रचण्ड आफैंले उनीहरुलाई बोलाएर भेटेको र सम्मान गर्ने खबर सुनेपछि फुरुङ्ग हुँदै आफैंले तानेर फोटो खिचाएको शर्माले बताए ।
‘सत्यमोहन जोशीले मलाई टेलिफोन गरेर हामीलाई प्रचण्डसँग भेट्ने टाइम मिलाइदिनुपर्‍यो भन्नुभयो, मैले फोन गरेपछि पर्सि बिहान ८ बजे पठाइदिनोस् भन्नुभयो,’ शर्माले अनलाइनखबरसँग भने, ‘पर्सिपल्ट मलाई तपाई पनि आउनोस् भनेको हुनाले म पनि गएँ । साझा प्रकाशनबाट डोलेन्द्रजी पनि जानुभयो ।’
माओवादी नेता शर्माले घटनाको थप व्याख्या गर्दै भने, ‘ प्रचण्डको सचिवालय, एच.क्यू. भन्नेले मैले थाहै नदिई भेटाएको भनेर विज्ञप्ति निकालेछ, मैले भेटाएको होइन, अध्यक्ष प्रचण्ड ‘अनकन्सियस’ मान्छे होइन उहाँले आफैं बोलाएर भेटेको हो, त्यहाँ हामी केही बोलेनौं, प्रचण्ड आफैंले खुशी भएर सम्मान ग्रहण गर्ने भन्दै तानी-तानी फोटो खिच्न आग्रह गर्नुभयो ।’
आफूहरु साझा प्रकाशको सामाग्री दिन त्यसबेला प्रचण्डनिवासमा पुगेको शर्माले बताए । पूर्वशिक्षामन्त्री एवं माओवादीका पूर्वप्रवक्तासमेत रहेका शर्मा साझा प्रकाशनमा समेत आवद्ध छन् ।
नइ प्रकाशनका नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईसँग आफ्नो कुनै साँठगाँठ नरहेको बताउँदै शर्माले भने, ‘उनीहरुसँग मेरो चिनाजानी भएको २/३ महिना पनि पुगेको छैन । साझाका डोलेन्द्रजीसँग उनीहरुको पुरानो चिनजान रहेछ ।’
सम्मान सम्बन्धी त्रिमूर्ति निकेतन र प्रचण्डको सचिवालयबाट जारी अलग-अलग विज्ञप्ति
२०७४ साउन ६ गते १२:४५ मा प्रकाशित

http://www.onlinekhabar.com  बाट साभार 

No comments: