Monday, November 11, 2019

शक्ति लम्साललाई सम्झियो प्रगतिशील लेखक सङ्घले


------------------------------------------------------------------------------------------------
"भारतीय जाली नक्साविरुद्ध विरोध कार्यक्रम घोषणा छिट्टै "


प्रकाश थापा मगर
काठमाडौँ । प्रगतिशील लेखक सङ्घले पूर्व केन्द्रीय उपाध्यक्ष तथा पत्रकार शक्ति लम्लासलाई सम्झिएको छ । २०७६ कार्तिक २४ गते बागबजारस्थित केन्द्रीय कार्यालयमा एक समारोहमाझ पत्रकार लम्सालको स्मरण गरिएको हो । सो अवसरमा प्रगतिशील देउसीभैलो–२०७६ को समीक्षा र लिपुलेक नक्सा प्रकरणको सन्दर्भमा विरोध कार्यक्रम आयोजना गर्नेबारेमा समेत छलफल भएको थियो ।

केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा उपमहासचिव आरसी न्यौपानेको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रमको प्रारम्भमा प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष शक्ति लम्सालको चौथो स्मृति दिवसको सन्दर्भमा वक्ताहरूले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । मन्तव्य राख्नेहरूमा हुनुहुन्थ्यो– प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेल, जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, नेकपाका नेता नारायण शर्मा र लम्सालकी पत्नी कृष्णा लम्साल ।

तत्पश्चात् प्रगतिशील देउसीभैलोको समीक्षा र लिपुलेक नक्सा प्रकरणमा विरोध कार्यक्रमबारे छलफल चलेको थियो । कार्यक्रममा अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी, महासचिव समीर सिंह, उपाध्यक्ष गोपीरमण उपाध्याय, उपमहासचिव आरसी न्यौपाने, सचिव प्रकाश थापा मगर, कोषाध्यक्ष प्रा.डा. धु्रवकुमार घिमिरे, पूर्व अध्यक्ष मातृका पोखरेल, पूर्व मन्त्री शान्ता मानवी, प्रलेसका केन्द्रीय सदस्य नवराज रिजाल, काठमाडौँकी अध्यक्ष कौशिला रिसाल, ललितपुरका अध्यक्ष शेखर अर्याल, साहित्यकारहरू भागवत आचार्य, धनबहादुर मगर, सन्तोष सिम्खडा, प्रतिभा पुन, डम्बर आचार्य, कलाधर काफ्ले, लेखनाथ गौतम, खगेन्द्र राई र नारायण शर्माले छलफलमा भाग लिनुभएको थियो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा देखाएकोबारेमा प्रलेसले छिट्टै एकल र अन्य सङ्गठनहरूसित मिलेर समेत विरोध कार्यक्रम घोषणा गर्ने तयारी रहेको प्रलेसका महासचिव समीर सिंहले बताउनुभयो ।

www.yugdarshan.com बाट साभार 

No comments: