Friday, September 15, 2017

संघर्षबाट अनुभूत गरेको मूल्य प्रणलीनै संस्कृति हो : खगेन्द्र सङ्ग्रौला

बेलबारी, असार १३– मोरङको बेलबारीमा ‘समकालीन नेपाली कथामा सांस्कृतिक चेतना’ बिषयक विचार गोष्ठी तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । 



नेपाल प्रज्ञा प्रतिष्ठान, गद्य÷आख्यान शाखाको आयोजना तथा बेलबारी साहित्य विकास समितिको सह–आयोजनामा शनिबार भएको कार्यक्रममा प्रमुख अतिथि खगेन्द्र सङ्ग्रौलाले अझैपनि नेपाली समाज बिभिन्न तहमा बिभाजित रहेको र साहित्य÷आख्यानमा पनि तहगत संस्कृति रहेको बताए । सङ्ग्रौलालले लामो समयसम्म मान्छेले गरेको सङ्घर्षबाट अनुभूत गरेको एउटा मूल्य प्रणलीनै संस्कृति हो भन्दै नेपाली कथा÷आख्यानमा संस्कृतिका कुरा अद्यापि गौण रहेको बताए । बेलबारी स्थित मदनमोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा सम्पन्न कार्यक्रममा ‘समकालीन नेपाली कथामा सांस्कृतिक चेतना माथि कार्यपत्र प्रस्तुत गर्दै पुरुषोत्तम सुवेदीले कथा÷आख्यानमा समाजमा विकसित समसामयिक संस्कृतिले स्थान पाउनु पर्ने बताए । सुवेदीको कार्यपत्र माथि डा.बद्री बिशाल पोख्रेल र प्राध्यापक नयनराज पाण्डेले टिप्पणी गर्नुभएको कार्यक्रममा सर्जकहरुले बिभिन्न रचनाहरु समेत सुनाएका थिए । खगेन्द्र संग्रौला, राजेन्द्र विमल, नारायण ढकाल, विमल निभा, पुरूषोत्तम सुवेदी, मातृका पोखरेल, नयनराज पाण्डे, बुद्धि सागर लगायत पूर्वाञ्चलका मुर्धन्य साहित्यकारहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता बेलबारी साहित्य विकास समितिका अध्यक्ष रेखा सुवेदीले गर्नु भएको थियो भने समितिका सचिव तिला गौतमले कार्यक्रम सञ्चालन गरेका थिए । यसअघि पुण्य चोकमा अवस्थित स्वर्गीय साहित्यकार पूण्य प्रसाद सुवेदीको सालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रम पश्चात बेतना सिमसार क्षेत्रको अवलोकन भ्रमण एवं अनौपचारिक रचना वाचन समेत गरिएको थियो ।

http://www.ratopati.com बाट साभार 

No comments: