Sunday, September 17, 2017

साहित्यिक पत्रकार सङ्घको अध्यक्षमा शर्मा

काठमाडौँ, १५ असोज २०७३  । नेपाल साहित्यिक पत्रकार सङ्घको यहाँ आज सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले ‘अभिव्यक्ति’ द्वैमासिकका सम्पादक नगेन्द्रराज शर्माको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मातृका पोखरेल, उपाध्यक्षमा रामप्रसाद पन्त, लक्ष्मी उप्रेती, नवराज पुडासैनी ‘ज्योत्स्ना’ र वियोगी बुढाथोकी रहनुभएको छ । यस्तै, महासचिवमा मोहन दुवाल, उपमहासचिवमा चेतनाथ धमला, सचिवमा यादव भट्टराई र होमशङ्कर बास्तोला तथा कोषाध्यक्षमा नवराज रिजाल चयन हुनुभएको छ । सदस्यमा आरएम डङ्गोल, गणेश राई, ठाकुर शर्मा, राम सञ्जेल, सूर्यप्रसाद लाकोज, सुधीर घिमिरे, गायत्रीकुमार चापागाइँ, लक्ष्मी भट्टराई, इन्द्रकुमार श्रेष्ठ ‘सरित’, बालिका गिरी, माधव घिमिरे ‘अटल’, अर्जुनबहादुर तामाङ, डा रेवतीरमण लाल, गङ्गा सुवेदी, प्रकाश सिलवाल, श्रीराम श्रेष्ठ, रामेश्वर राउत ‘मातृदास’, विष्णु भण्डारी, नरेशवीर शाक्य, अशोक सुवेदी, दीपसागर पन्त, बालकृष्ण गैह्रे, ऋद्धिरमण घिमिरे चयन हुनुभएको छ । सम्मेलनमा निवर्तमान अध्यक्ष रोचक घिमिरेले शर्मालाई पद हस्तान्तरण गर्दै साहित्यिक पत्रपत्रिकाको वर्गीकरण थालनी, नेपाल सरकारबाट संस्थागत अनुदानजस्ता काममा आफ्नो कार्यकालमा सफलता मिलेको बताउनुभयो । महासचिव दुवालले प्रतिवेदन पेस गर्दै राज्यले समाचार पत्रकारितालाई झैँ साहित्यिक पत्रकारितालाई प्रोत्साहन नगरेको गुनासो गर्नुभयो । यज्ञनिधि सम्मानित सम्मेलनमा वरिष्ठ रेडियो साहित्यिक पत्रकार दाहाल यज्ञनिधिलाई रु १० हजार राशिसहित सम्मानित गरियो । यस्तै कृष्णप्रसाद दुवाल, दिल वरदान र सुवास श्रेष्ठलाई पनि सम्मान गरियो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले सो सम्मान प्रदान गर्दै काउन्सिलले साहित्यिक पत्रकारिताको विधालाई निरन्तर प्रोत्साहन गर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले नेपालको पत्रकारिता विकासमा साहित्यिक पत्रकारिताको योगदान उल्लेखनीय भएको बताउनुभयो । दाहालले तीन दशकसम्म रेडियो नेपालको ‘साहित्य संसार’ कार्यक्रम सञ्चालन गर्नुभएको थियो । विसं २०६३ मा नकुल सिलवालको अध्यक्षतामा सो सङ्घको स्थापना भएको थियो ।

- रासस

http://www.sambadmedia.com बाट साभार 

No comments: