Sunday, September 17, 2017

युद्धपछि कमरेडहरु - रसुवाली कवि

बागवजारको अँध्यारो कोठामा
गमिरहेछन् अशोक सुवेदी
युद्ध ठिक की शान्ति ठिक
अपमानित जीवनकी सम्मानित मृत्यु
चुरोटको धुँवा जस्तो सहयात्रीकी
आगो जस्तो भर्भराउँदो सहयात्रा


घरी बन्दुक बनाउँछन्
घरी हँसिया बनाउँछन्
देशको नक्सा कोर्छन
युद्धका आकृतिका ललितकला बोकेर
कलाकार अग्निराज पौडेल
चित्रमा नै युद्ध गर्छन् ।

निराश छैनन् माइला लामा
बन्दुक हेर्छन गीत लेख्छन्
आधार इलाका सम्झन्छन्
मधुर संगीत भर्छन् ।


नाटकको अपेरामा युद्ध
संस्कृतिक थेसिसमा युद्ध
अनुहारका रेखाहरुमा बारुद
उस्तै छ खेम थपलियाको दैनिकी

आरोह नेपालीमा हारेको छैन युद्धको चेत
उस्तैगरी नाचिरहेछ सामना परिवार
चिबे चराको गीत लेखिरहेछन् केशव सिलवाल

एकतिर ठिक छ कमरेडहरुको हाल
अर्कोतिर बेहाल छ कमरेडहरुको ताल

जस्तो कि
रक्सीको मुल्य सोधिरहेछन् गणेश भण्डारी
एन.जि.ओ.को मिटिङमा छन् आहुती
मम पसलको बिल तिरिरहेछन् मातृका पोखरेल
विष्णु भण्डारीले हराएका छन् कम्युनिष्ट घोषणापत्र
इश्वरचन्द्र ज्ञवाली, गोपिन्द्र पौडेल, ताराकान्त पाण्डेहरु
सोधिरहेछन् घडेरीको मुल्य सुनको बजार भाउ
र सेयर बजारको आजको स्थिति

हतासमा छन् निनु चापागाईं
बाटामै हराएका छन् ऋषिराज बराल
कति कति गीतहरुमा संगीत हराएको छ
कति कति मान्छेहरुको जीबनको गति धरमराएको छ

जे.बी. टुहुरे र खुसीराम पाख्रिनलाई
किन्न खोज्दैछ उत्तर आधुनिक संगीत
निराश निराश भएर
नयाँ दस्तावेज लेखिरहेछन् देवेन्द्र पौडेल सुनिल
मणि थापामा हराएको छ छटपटि
र पूर्ण बिरामले  बिर्सेका छन पुरानो कविताको शिर्षक

यो अन्तिम विसौनीमा उभिएर
हामी सोचिरहेछौँ
क्रान्ति गर्ने कि आत्मसमर्पण ?

No comments: