Thursday, March 5, 2020

कविता : सहरमा मार्क्स

 - मातृका पोखरेल


सहरबाट मार्क्स  हराएको केही समयपछि
मैले उनलाई अस्ति एक्कासी बागबजारको श्रेष्ठ टेलरिङ छेउमा भेटेँ ।

उनले मलाई पूरै बिर्सिसकेका रहेछन्
उनै पुराना कार्ल मार्क्स हुन भन्ने थाहा पाएपछि
मैले लालसलाम कमरेड भनेँ,
र, हात मिलाउन खोजेँ
उनले अप्ठ्यारो मान्दै हात मिलाए ।

मैले उहिले भेट्दा उनले दारी पालेका थिए
हिजोआज जुँगामात्र राखेर दारी काटेछन्
मनमनै लाग्यो बुढा दारीमै सुहाउँथे
राम्रो गरेनछन् । 

आराम विरामका केही औपचारिक कुरा भए
उनले मलाई सोधे
श्रेष्ठ टेलरिङ कहाँनेर पर्छ ?
मैले हातको इसाराले श्रेष्ठ टेलरिङ देखाइ दिएँ ।
‘त्यहाँ दौरासुरुवाल राम्रो सिलाउँछ भन्ने सुनेको थिएँ’
उनी स्पष्टिकरण दिँदै श्रेष्ठ टेलरिङतिर गए
उनी गएको बाटो लामो समय मैले हेरिरहेँ ।

आज मैले फेरि उनलाई इन्द्रचोकनेरको एउटा गल्लीमा भेट्टाएँ
आज उनी दौरासुरुवालमा सजिएका थिए
घनिष्टता बोध गरेर हात मिलाउन खोजेँ
मैले बढाएको हात नदेखेझैँ गरे उनले
त्यसपछि मैले नमस्कार गरेँ
उनले खुसीका साथ नमस्कार फर्काए
कुनै पसलको खोजीमा थिए उनी
उनले खोजेको पसल मैले जान्न चाहेपछि
एकछिन अक्मकिए उनी
बिर्के टोपी पाइने दुकान कता होला बाबू ?
निकै अप्ठ्यारो मान्दै उनले फेरि सोधे ।

सहरबाट मार्क्स हराएको केही समयपछि
मैले उनलाई आज एक्कासी इन्द्रचोकको एउटा पुरानो गल्लीमा भेटेँ
उनी बिर्के टोपीको दुकान खोज्दै थिए ।


गण्डकी संगम, पूर्णाङ्क १६, २०७६

No comments: