Sunday, December 14, 2025

उपन्यासकार धर्मेस पोखरेलको उपन्यास 'भोगाइ' को परिचर्चा कार्यक्रम

वि. सं. २०८२ साल मंसिर २७ गते शनिवार पद्मोदय विद्यालय, रामशाहपथ, पुतलीसडकमा उपन्यासकार धर्मेस पोखरेलद्वारा लिखित उपन्यास भोगाइको परिचर्चा कार्यक्रम सम्पन्न भयो ।

साहित्यकार, प्राज्ञ संस्कृतिकर्मीहरूको बिचमा भएको परिचर्चा कार्यक्रममा वरिष्ठ पत्रकार महेश्वर दाहालले भोगाइ उपन्यासमा नेपाली समाजमा जमेर बसेको कुरिति, कुसंस्कार,र भोगाइहरुको संगालो छताछुल्ल भएको र लेखक आफैले भोगेका सास्तीहरूलाई उनेर तयार पारिएको कथा रहेको छ भनेर टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार मातृका पोखरेलले भोगाइ उपन्यासमा लेखक आफै जीवनमा पल-पल कसरी तडपिदै, पिडा सहँदै, फेरि पनि कसरी जिवन सुन्दर बनाउन, समाज सुन्दर बनाउन सकिन्छ भनेर गहिरो संघर्षमा झ्वाम्म हामफालेका छन् भन्नुहुदै उपन्यास मा प्राविधिक कमजोरीहरू रहे पनि विषयवस्तुका हिसावले उपन्यास सवल रहेको धारणा राख्नुभयो ।

वरिष्ठ संस्कृतिकर्मी डा. पुष्करराज भट्टले आफूले उपन्यास नपढेको भए पनि भोगाइ शिर्षक रहेकोले पक्कै पनि जी वन र समाजका भोगाइहरू नै यसमा उनिएको हुनुपर्छ भन्नुभयो। साथै उहाँले साहित्यकारहरूको संगठनलाई धेरै मजवुत बनाएर अघि बढ्नुपर्छ भन्ने धारणा राख्नुभयो ।

त्यसैगरी अर्का वक्ता जनसांस्कृतिक महासंघ, नेपालका अध्यक्ष भीम कुमाखीले उपन्यासकार धर्मेस पोखरेल यस उपन्यास भित्र कतै रूनुहुन्छ त कतै हास्नु हुन्छ भन्दै जीवनको संघर्षमा होमिदै बिभिन्न खाले आन्दोलनमा समाहित हुदै दशवर्षे जनयुद्धसँग जोडिन पुग्नुहुन्छ भन्नुहुँदै जीवनमा आशावादी हुँदै अगाडि बढ्नुपर्छ भन्ने सन्देश उपन्यासले दिएको छ भन्ने धारणा राख्नुभयो ।

अर्का वक्ता नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले उपन्यासमा प्रसस्त प्राविधिक कमजोरी भएको छ र त्यसलाई सच्याएको भए अझै उत्कृष्ट सिर्जना बन्न सक्थ्यो भन्दै उपन्यासकार लाई उपन्यास पस्किएकोमा बधाई दिनुभएको थियो ।

अर्का वक्ता साहित्यकार पुण्यप्रसाद आचार्यले यस उपन्यासले सामाजिक जीवनको बारेमा नेपाली समाजमा रहेको होचोअर्घेलो, उथलपुथलको बारेमा गहिरो जानकारी दिएको छ भन्नु भयो ।

अन्त्यमा उपन्यासकार धर्मेस पोखरेलले बरिष्ठ साहित्यकार एवं प्राज्ञहरूले औल्याएका गल्ती कमजोरीहरुलाई हृदयङ्गम गरी अगाडि बढ्ने प्रण गर्दै सबै साहित्य अनुरागी मित्रहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रम अखिल नेपाल लेखक संघको व्यानरमा बातालाबाको ३६ औं श्रृंखला अन्तर्गत सम्पन्न भएको थियो । उक्त कार्यक्रम बातालाबाका संयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य अगिव बनेपालीले संचालन गर्नुभएको थियो ।

000 

समाचार स्रोत : धर्मेश पोखरेल 












Saturday, December 13, 2025

"त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये" कार्यक्रम सम्पन्न

 

विद्युतकर्मी साहित्यिक समाजको आयोजनामा वरिष्ठ साहित्यकार पुष्कर लोहनीलाई स्रष्टा सम्मान तथा उहाँकै रचना उहाँलाई नै सुनाउने कार्यक्रम "त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये" कार्यक्रम सम्पन्न भएको खबर छ ।

कार्यक्रममा विशेष अतिथि नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईं, अतिथिहरू भाषा आयोगका सदस्य मातृका पोखरेल, शारदा मासिकका सम्पादक विमल भौकाजी, निबन्ध लेखक श्रीबाबु कार्की साथै अन्य अतिथिहरूमा विद्युतकर्मी साहित्यिक समाजका पुर्व अध्यक्षहरू कुलप्रसाद पराजुली, केशव रुपाखेती, विष्णुबहादुर सिंह, पुण्य घिमिरे, रामेश्वर राउत मातृदास, कृष्णदेव रिमाल शब्दसेना हुनुहुन्थ्यो ।
कार्यक्रममा साहित्यकार लोहनीलाई माला दोसल्ला र उहाँको योगदान झल्कने सम्मानपत्र समर्पण गरिएको थियोे । त्यसैगरी"" त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये " कार्यक्रममा सम्मानित स्रष्टा पुष्कर लोहनीको 'गुजुल्टो' कथा विद्युतकर्मी साहित्यिक समाजका निवर्तमान अध्यक्ष कृष्णदेव रिमाल शब्दसेनाले वाचन गरी कार्यक्रमको शुरुआत भएको थियोे । त्यसपछि क्रमशः पुष्कर लोहनीले विभिन्न समयमा लेखिएका कथा, कविता, मुक्तक, हाइकु, चोका, कटौता रचनाहरू उहाँलाई नै श्रवण गराईएको थियोे । स्रष्टालाई स्रष्टाकै रचना सुनाउने क्रमको अन्तमा विद्युतकर्मी साहित्यिक समाजका सचिव युवराज शर्माले पुष्कर लोहनीको बहुचर्चित कविता 'कौडी' वाचन गर्नुभएको थियोे ।
लोहनी निवास घट्टेकुलोमा भएको कार्यक्रममा उल्लेख्य मात्रामा सहभागिता रहेको थियोे । कार्यक्रमको सभाध्यक्षता, कार्यक्रम बारेमा प्रकाश र सम्पूर्ण अतिथिहरूलाई स्वागत विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कवि विष्णुप्रसाद आचार्यले गर्नुभएको थियोे भने कार्यक्रम सञ्चालन विद्युतकर्मी साहित्यिक समाजका सचिव युवराज शर्माले गर्नुभएको थियोे ।

000









Friday, December 12, 2025

पीताम्बर भण्डारी : समाजसेवा, जनसंघर्ष र सिर्जनाको त्रिवेणी प्रतिभा - मातृका पोखरेल

साहित्यकार पीताम्बर भण्डारी सत्तरी वर्षको उमेर व्यतित गरेर २०७४ फागुन १० गते हामी सबैसँग सदाका लागि विदा हुनुभयो । उहाँ जति समय बाँच्नु भयो सामाजिक सेवा, प्रगतिवादी साहित्य र जनपक्षीय राजनीतिको अभियन्ता भएर जीवनका उर्वर समयहरू नेपाली समाजलाई अर्पण गरेर बाँच्नुभयो । सबैले जीवनको महत्त्वका बारेमा यसरी सोच्दैनन् पनि र व्यवहारमा लागु पनि गर्दैनन् । समाजमा थोरै मानिसहरू मात्र हुन्छन् जीवनलाई देश र समाजको हितसँग जोड्ने । पिताम्बर भण्डारी त्यस्तै थोरै मानिसभित्र पर्नुहुन्थ्यो । व्यक्तिगत स्वार्थभन्दा वाहेकका यी तीनै क्षेत्रबाट उहाँले समाजमा मनग्गे योगदान गर्नुभयो ।

पिताम्बर भण्डारीलाई सम्झँदा मेरा अघिल्तिर प्राय: प्रगतिशील लेखक सङ्घका गतिविधि र प्रतिगमन विरुद्धको आन्दोलन बढि मात्रामा आउने गर्छ । उहाँसँगको मेरो पहिलो सम्बन्ध प्रगतिशील लेखक सङ्घका कार्यक्रमहरूले विकसित गरायो । सडक सङ्घर्ष र राजतन्त्र विरोधी आन्दोलनले आत्मीय बनायो । प्रत्येक पटक काठमाण्डौ आउँदा उहाँ मेरो रत्नपार्कको जागिरे कार्यालय नेपाल विद्युत प्राधिकरण निस्किएर र बोलाएर हिँड्नु हुन्थ्यो ।

२०५८ सालतिरको हिउँदको कुनै महिनाको कुरा हो । साथीहरूसहित् म पनि प्रगतिशील लेखक सङ्घ, सिन्धुपाल्चोकको सम्मेलनमा चौतारा पुगेको धमिलो सम्झना छ । त्यो सम्मेलनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको सम्झिन्छु । प्रगतिशील लेखक सङ्घको सिन्धुपाल्चोकमा उहाँसँग मेरो अर्को संयोग पनि पऱ्यो । करिब आठ वर्ष अध्यक्षको जिम्मेवारी पुरा गरेर वि.सं. २०६६ सालको जेठ महिनामा दोस्रो जिल्ला सम्मेलन गरेर उहाँ विदा हुन लाग्दै हुनुहुन्थ्यो । त्यो सम्मेलनका लागि जिल्ला अध्यक्ष पीताम्बर भण्डारीको अनुरोध अनुसार केन्द्रीय समितिबाट साथीहरूले मलाई जान आग्रह गर्नुभयो ।सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भएको त्यो सम्मेलनको उद्घाटन सत्रमा तत्कालिन एकीकृत नेकपा माओवादी सिन्धुपाल्चोकका नेता सुबोध सापकोटा र नेकपा एमाले सिन्धुपाल्चोकका नेता सरेश नेपालका बिचमा भएको वाकयुद्धले सम्मेलन सफल हुँदैन कि भन्ने म भित्र एउटा आशंका पैदा थियो । मैले मञ्चमा कार्यक्रमको सभापति रहनुभएको अध्यक्ष पीताम्बर भण्डारीसमक्ष यो शंका व्यक्त गरेँ । उहाँले मलाई यहाँको स्थानीय राजनीति यस्तै हो, केही फरक पर्दैन भनेर वारम्बार आश्वस्त बनाइरहनु भएको थियो । तर पछि पीताम्बर भण्डारी, माधव सापकोटा, सरेश नेपाललगायतले प्रगतिशील लेखक सङ्घको साझा मोर्चाको अवधारणालाई लागु गर्न प्रयत्न गर्नुभयो । त्यो सम्मेलनबाट साधुराम नेपाललाई अध्यक्ष बनाएर पीताम्बर भण्डारीले आफ्नो जिम्मेवारी पुरा गर्नुभयो । पीताम्बर भण्डारी अध्यक्ष भएको त्यो आठ वर्षको कार्यकालमा विभिन्न कार्यक्रममा उहाँले बोलाइरहनु भयो म सिन्धुपाल्चोक पुगिरहेँ । उहाँले जति समय प्रेलस, सिन्धुपाल्चोकको नेतृत्व सम्हाल्नु भयो, त्यो जिल्लालाई सक्रिय जिल्लाको रूपमा दर्ज गराइरहनु भयो ।

२०६६ साल पुस ११ गते पिताम्बर भण्डारीले आफ्नो पहलमा काठमाण्डौबाट हामी नयाँ पुराना धेरै साहित्यकारहरुलाई किउल लग्नुभयो । त्यो कार्यक्रममा कृष्णचन्द्र सिंह प्रधान, तेजेश्वरबाबु ग्वंग, मोहन दुवाल, जगन्नाथ आचार्यलगायत अग्रज पुस्ताका साहित्यकार पनि हुनुहुन्थ्यो । हामी नयाँ पुस्ताका साहित्यकारहरूको ठुलो संख्या थियो । एउटा सामान्य गाउँमा त्यो स्तरको कार्यक्रम गर्नु सामान्य कुरा थिएन । सयौं पाहुनाहरुलाई रात बस्ने व्यवस्था मिलाउनु सामान्य कुरा छँदै थिएन । त्यसबेला खाएको खिरको सम्झना अझै पनि छँदै छ । अझ त्यही राति केही युवा साथीहरूसँग किउलको सामान्य एउटा छाप्रो पसलमा एकसय रुपैयाँमा एउटा सिंगो कालिज किनेर खाएको सम्झना पनि उत्तिकै ताजा छ । त्यहीँको कार्यक्रममा सिन्धुपाल्चोकको शैक्षिक उन्नयनमा पनि योगदान पुऱ्याउनुभएका वरिष्ठ साहित्यकार एवं संस्कृतिविद श्री तेजेश्वरबाबु ग्वंगःलाई व्यथित सिन्धु प्रतिभाका रुपमा र प्रख्यात छन्द कवि जगन्नाथ आचार्यलाई सिन्धुप्रतिभाका रुपमा सम्मानित गरेको थियो । त्यो कार्यक्रम आयोजनाको एकल केन्द्र हुनुहुन्थ्यो पीताम्बर भण्डारी । उहाँले आफू कुशल व्यवस्थापक रहेको परिचय पनि त्यो कार्यक्रमबाट राम्रोसँग दिनु भएको थियो ।

उहाँ जहाँ संलग्न हुनुभयो, त्यहाँ संगठन, क्रियाशीलता र परिणाम सकारात्मक देखिने गरेको साथीहरूको प्रतिकृया हुन्थ्यो । उहाँ हरेक समुदायलाई आफैँ सँगै हिँडेर विकास गर्न प्रेरित गर्ने असल जन-अभियन्ता हुनुहुन्थ्यो । नेपाली समाजको रूपान्तरणका प्रत्येक उपलब्धीमा पिताम्बर भण्डारीहरूको यथेष्ट योगदान छ । सिन्धुपाल्चोकको आउँदो पुस्ताले उहाँको योगदानलाई सम्झिएर इतिहासप्रति न्याय गर्न सक्नुपर्छ ।

०००

Sunday, December 7, 2025

"प्रलेस शक्ति लम्साल साहित्य पुरस्कार" स्थापना हुने

 



प्रगतिवादी साहित्य, पत्रकारिता र राजनीतिका बहुप्रतिभाशाली व्यक्तित्व शक्ति लम्सालको नाममा २०८२ साल मंसिर २१ गते प्रगतिशील लेखक सङ्घ र लम्साल परिवारको बीचमा " प्रलेस शक्ति लम्साल साहित्य पुरस्कार" स्थापना गर्ने सहमति भएको छ । शक्ति लम्सालकी जीवनसाथी कृष्णा लम्साल, छोरी प्रज्ञा लम्सालले सो कार्यका लागि रू. ४०००००/ - (चार लाख रुपैयाँ) अक्षय कोषमा राख्नका लागि प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीलाई हस्तान्तरण गरेकी छिन्। परिवारका तर्फबाट कार्यक्रममा राजनीतिज्ञ नारायणप्रसाद शर्मा, यशोदा सुवेदी र साहित्यकार सुशिल गौतम पनि उपस्थित थिए ।

प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा परिवारको तर्फबाट साहित्यकार सुशिल गौतमले यो पुरस्कारले साहित्यकार शक्ति लम्सालले जीवनभर अभियान चलाउनु भएको क्रान्तिकारी विचार र प्रगतिवादी साहित्यलाई अघि बढाउन सहयोग होस् भन्ने सम्पूर्ण परिवारको चाहना रहेको धारणा राखे । प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष मातृका पोखरेलले आफ्नो मन्तव्य राख्दै केही वर्ष अघिदेखिको पहल आज सार्थक भएकोमा खुसी व्यक्त गरे । उनले यो पुरस्कारको माध्यमले शक्ति लम्सालको विचारप्रति प्रतिबद्धता र विचार अनुसारको उहाँको व्यवहारबाट पछिल्लो पुस्ता जानकार हुने र त्यही महान बाटोमा आफू हिँड्न प्रयत्न गर्ने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै सङ्घका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीले यो पुरस्कार स्थापना गर्न पहल गरेकोमा सङ्घका सल्लाहकार मातृका पोखरेल र प्रगतिशील लेखक सङ्घलाई विश्वास गरेर अक्षयकोष राख्नु भएकोमा परिवारलाई धन्यवाद दिए । उक्त समारोहमा सङ्घका उपाध्यक्ष, समिर सिंह, महासचिव पारस ढकाल, सचिव कुशल बोगटी, कोषाध्यक्ष कृष्ण सुवेदी 'भारद्वाज मित्र', एवम् सल्लाहकारहरू विष्णु प्रभात, डा. मधुसुदन गिरीको पनि उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको संचालन महासचिव पारस ढकालले गरेका थिए ।

स्मरण रहोस्, साहित्यकार शक्ति लम्साल प्रगतिशील लेखक सङ्घको प्रथम राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष निर्वाचित भएका थिए ।

000

https://dayitwabodh.com बाट साभार 










Friday, December 5, 2025

साझा प्रकाशनको ६२ औँ स्थापना दिवससँगै पुल्चोकमा बृहत् पुस्तक प्रदर्शनी सुरू

 


काठमाडौँ । पुल्चोकस्थित साझा प्रकाशनको केन्द्रीय कार्यालय परिसरमा आजदेखि बृहत् पुस्तक प्रदर्शनी सुरु भएको छ। केन्द्रीय कार्यालयभित्र रातो भवनमा आयोजना गरिएको प्रदर्शनीको विधिवत् उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले गर्नुभएकाे हाे ।

प्रदर्शनी उद्घाटनभन्दा अघि साझा प्रकाशनले आफ्नो ६२ औँ स्थापना दिवस विशेष कार्यक्रमसहित मनाएकाे थियाे । अध्यक्ष शेखर गिरीको सभापतित्वमा सम्पन्न समारोहमा प्रमुख आमन्त्रित अतिथिका रूपमा उपस्थित सचिव भुजेलले साझा प्रकाशनलाई “इतिहास बोकेको सम्मानित संस्था” भन्दै यसको संरक्षण र सुदृढीकरणका लागि राज्य सकारात्मक रुपमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

मन्त्रालयमा पदस्थापन भएको तीन दिनमै साझाको आर्थिक अवस्थासम्बन्धी फाइल हातमा परेको उल्लेख गर्दै उहाँले रु. ५० लाख बजेट स्वीकृत गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयाे । साहित्यप्रेमी भुजेलले साहित्यकारहरूप्रति विशेष सम्मान व्यक्त गर्दै आफू पनि साहित्यकार बन्न चाहेको तर बन्न नसकेको प्रसङ्ग स्मरण गर्नुभयाे ।

अध्यक्ष शेखर गिरीले साझा प्रकाशनको एक सय १३ वर्षे इतिहासको पुनःस्मरण गर्दै सातै प्रदेशको सांस्कृतिक जगेर्नामा साझा सक्रिय रहनुपर्ने बताउनुभयाे । नयाँ प्रविधि अपनाउँदै प्रकाशन र पठन संस्कृतिलाई युगअनुकूल अघि लैजाने योजनाका बारेमा पनि जानकारी गराउनुभयाे ।

कार्यक्रममा प्रा.डा. अभि सुवेदी, प्रा.डा. तुलसी भट्टराई, मातृका पोखरेल तथा पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले साझा प्रकाशनको ऐतिहासिक योगदान, वर्तमान चुनौती र भावी दिशाबारे विशद् मन्तव्य राख्नुभएकाे थियाे ।

साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले आर्थिक र भौतिक अवस्थाबारे जानकारी दिँदै विगत केही वर्षयता संस्थाले भोगिरहेका कठिनाइहरू उल्लेख गर्नुभयाे । छापाखानाका उपकरण पुराना भइसकेको र नयाँ प्रविधि तथा विद्युतीय माध्यममार्फत पुस्तक प्रकाशनमा अघि बढ्ने सोच रहेको बताउनुभयाे ।

कार्यक्रमका संयोजक प्रा.डा. ध्रुव घिमिरेले स्वागत मन्तव्य राख्दै साझा प्रकाशनलाई आधुनिक व्यवस्थापनका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयाे । शेयरधनी प्रतिनिधिका रूपमा ओम श्रेष्ठ ‘रोदन’ र सीता पाण्डेले पनि आफ्ना धारणा प्रस्तुत गर्नुभयाे ।

साझा प्रकाशनले आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा उपलब्ध पुस्तकहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गरिएको छ। प्रदर्शनी केही दिनसम्म निरन्तर रहने बताइएको छ।

000

२०८२ मंसिर १७ बाट साभार

















Tuesday, December 2, 2025

कविता : खण्डहरबाट एउटा आवाज

 मातृका पोखरेल

[ आफ्नो मातृभूमिको रक्षाका लागि सङ्घर्षशील प्यालेस्टाइनीहरूमा समर्पित ]


म प्यालेस्टाइन !
माथि आकाश हेर्छु
यसको नीलो रङ्गमा रमाउने अधिकार खोज्छु
अनगिन्ती तारापिण्डहरूसँग हराउने सपना देख्छु
म आफ्नै देशमा अपरिचित र असहाय
हो, म प्यालेस्टाइन !

मेरै घरमा बसेर
मलाई बन्दुक ताक्नेहरू
मेरो सपनामा खुवै आउँछन्
त्यो घरको ढुङ्गा
त्यो आँगनको माटो
त्यो झ्यालबाट देखिने दृश्य
त्यो आमाको स्वर
एकाएक हराए
अब म सँग
गुमेको सभ्यताको एउटा कथा बाँकी छ ।

ती खण्डहर सडकहरू
एकैचोटि समाप्त भएका ती बैठक कोठाहरू
ती भत्किएका गेटहरू
ती जलेका पलङ र कुर्सीहरु
आफ्नो सभ्यता खण्डहर भएको दृश्य हेर्न विवश
मानौं म एक पर्यटक हुँ
यो शहरमा बाँचेका मानिसहरू कसैसँग गुनासो गर्दैनन्
अचेल हाम्रो आँखाबाट आँसु बग्दैन
धुवाँको ज्वाला निस्कन्छ ।

म फेरि हेर्छु -
त्यहीँ नेर थियो मेरो एउटा घर
मारिनु भन्दा अघि
त्यही छेउमा थिइन मेरी आमा
त्यहीँ खेलिरहेका थिए मेरा बच्चाहरू
सम्झनास्वरूप यतिबेला मेरो हातमा
मेरो छोराको छुटेको एउटा जुत्ता छ
उसको जलेको किताब छ म सँग
मेरो हातमा छ उसको टिफिन बट्टा
र आमाको मजेत्रो ।

प्रत्येक विपना
मृत्युको ध्वनी बजाउँदै वस्तीमा आउँछ
त्रासद बमको गन्धले वस्ती ढाकिन्छ
फेरि रात पर्छ
तर निद्रा आउँदैन
किनभने सपनामा पनि
ऊ मलाई बन्दुक ताकिरहेको हुन्छ
विपनाजस्तै त्यहाँ पनि मृत्यु आउँछ
सपनामा पनि युद्ध छ
सपनामा पनि चित्कार छ
सपना भनेको
मेरो परिभाषामा अर्को रणभूमि हो
जहाँ चित्कारको प्रतिध्वनि
आकाशले पनि सम्हाल्न सक्दैन
मसँग अब
सभ्यताको एउटा कथा छ
त्यो कथा जलेको धुवाँभित्र कैद भएको
एउटा इतिहास हो ।

म बारम्बार नयाँ बिहान खोज्छु
मेरो छोराको जुत्तामा
अझै पनि माटोको गन्ध आउँछ
त्यो माटो जसले हजारौं बसन्त देखेको थियो
त्यो माटो जुन मेरो र मेरो हो
किनभने म प्यालेस्टाइन हुँ
म कदापि हार मान्दिनँ
प्रतिरोध नै मेरो अस्तित्व हो ।

०००

Monday, December 1, 2025

बागलुङ जिल्लाको बरेङमा बालसाहित्य गोष्ठी

२०८२ साल मंशिर १२ गते बरेङ गाउँ पालिका, बागलुङमा नेपाल प्रज्ञा प्रतिष्ठान, देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानको आयोजना र बरेङ गाउँपालिका , बाग्लुङको सह - आयोजनामा बाल कविता गोष्ठीको आयोजना गरियो । बरेङ गाउँपालिका , बाग्लुङका उपाध्यक्ष दीलिप कुमार पुनको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथ्य नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमल निभाले गर्नुभएको थियो । बरेङ गाउँपालिका , बाग्लुङका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्माले स्वागत मन्तव्यबाट सबैलाई स्वागत गर्नुभएको उक्त कार्यक्रममा सर्वोदय क्याम्पस, बरेङका क्याम्पस प्रमुख

फूल कुमारी शर्माले बाल साहित्यको महत्त्वका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथि देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष मातृका पोखरेलले टिप्पणि गर्नुभएको थियो ।

बरेङ गाउँपालिका बागलुङमा रहेका विभिन्न विद्यालयबाट प्रतिनिधित्व गर्ने कविहरू मन्जु घर्ती, लक्ष्मी दर्जी, सिम्रन थापा, आकाश वि.क., सन्देश गौतम, सपना पुन, तारा गुरुङ, शुषमा विक, एलिशा गिरी, निशा थापा , शारदा कार्की , मनिषा कार्की, सन्ध्या शर्मा, प्रकृति थापा, पूजा थापा, सविन क्षेत्री, रक्षा खत्री, सिर्जना परियार, सुलोचना परियार, अनिता भण्डारी, धनमाया बोहोरा, अन्जना सुनार , अनुषा विश्वकर्मा, ऋषीराम गिरी, अन्जु राना ले कविता वाचन गरेर प्रतियोगितामा भाग लिएका थिए । साहित्यकारहरू अगिव बनेपाली, सीता शर्मा र फूल कुमारी शर्मा रहनु भएको निर्णायक मण्डलले सपना पुन - प्रथम, सन्ध्या शर्मा - द्वितीय , एलिसा गिरी - तृतीय र तारा गुरुङ - सान्त्वना पुरस्कारद्वारा पुरस्कृत भएको घोषणा गरेको थियो । पुरस्कृत प्रतिभालाई प्रमुख अतिथि विमल निभा , विशेष अतिथि मातृका पोखरेल र कार्यक्रमका सभापति एवम् बरेङ गाउँपालिका , बाग्लुङका उपाध्यक्ष दीलिप कुमार पुन र नेपाल प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य अगिव बनेपालीले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य अगिव बनेपाली, देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका महासचिव सीता शर्माले कार्यक्रमको महत्त्वका बारेमा धारणा राख्नुभएको थियो । बरेङ गाउँपालिका , बाग्लुङका रोजगार संयोजक केशव राज क्षेत्रीले कार्यक्रमलाई सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमको सुरूमा पूर्वान्चल गन्धर्व संस्कृति उत्थान समाज, झापाको गन्धर्व प्रस्तुतिले गोष्ठीलाई रोचक बनाएको थियो ।

०००