Wednesday, April 17, 2024

प्रख्यात साहित्यकार पारिजातको ३१ औं स्मृति दिवस सम्पन्न

पारिजात स्मृति केन्द्रको आयोजनामा वि.सं. २०८१ बैशाख ५ गते साहित्यकार पारिजातको ३१ औं स्मृति दिवसका अवसरमा स्रष्टा एवम् अधिकारकर्मीहरुलाई पारिजातका नाममा स्थापित विभिन्न सम्मानहरू समर्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राई, प्रगतिवादी समालोचक निनु चापागाई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति रायन र पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलले पारिजात बालसाहित्य सम्मान - २०८० बाट बालसाहित्यकार प्रा. डा. धुर्व घिमिरेलाई , पारिजात कला सम्मान - २०८० बाट जनवादी गीतकार उदय श्रेष्ठलाई, पारिजात सृजन सम्मान - २०८० बाट कवि शोभा दुलाललाई र पारिजात संघर्षशील नारी सम्मान - २०८० बाट संघर्षशील नारी सम्मान निर्मला देवि साहलाई समर्पण गर्नुभयो ।

उक्त समारोहमा वरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकार मोहन दुवालले पारिजातसँग विताएका विगतका समयहरुको संस्मरण गर्दै नेपाली साहित्यमा पारिजातले पुऱ्याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

पारिजात स्मृति केन्द्रका कोषाध्यक्ष डा. विन्दु शर्माले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा कार्यसमिति सदस्य अमृता शर्माले सम्मानित व्यक्तित्वहरुको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रमुख अतिथिको रुपमा मन्तव्य राख्नु हुँदै कुलपति भूपाल राईले पारिजात एकजना साहित्यकार मात्र नभएर 'विचारधारा' कै रूपमा स्थापित हुनुभएको व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानले पारिजात विचारधारालाई छलफलको विषय बनाउन चाहिरहेको बताउनुभयो ।

विगत केही समयदेखि पारिजात स्मृति केन्द्र र प्रकाशक द्वय दिल 'वरदान' , सुवास श्रेष्ठबाट संयुक्त रूपमा प्रकाशन हुँदै आएको 'वेदना' साहित्यिक पत्रिका अब देखि www.ebedana.com का रूपमा अनलाइनमाध्यमबाट प्रकाशित हुने जानकारी गराइएको थियो र सोही अवसरमा अनलाईन संस्करणको प्रगतिवादी समालोचक एवम् वेदनाका सल्लाहकार निनु चापागाईले सुभारम्भ गर्नुभयो । उक्त अनलाईन संस्करणमा सम्पादक एवम् कवि केशव सिलवाल र वेभसाइट डिजाइनर संगीतकर्मी केशर कालिकोटेले अनलाइनमा साहित्यिक पत्रिका प्रकाशन गर्दाका सीमा एवम् चुनौतिका बारेमा आफ्ना धारणाहरू राख्नु भयो ।

सम्मानित प्रतिभाहरु प्रा. डा. धुर्व घिमिरे, उदय श्रेष्ठ र शोभा दुलालले सम्मानित हुँदाका आफ्ना अनुभूति राख्नुभएको उक्त समारोहमा स्मृति केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यकमको संचालन केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले गर्नुभएको थियो ।
000































































































--------------------------------------------------------------------------------

पारिजात पुस्तिका - २०८१